मधेश प्रदेश सरकारका योजना तथा कार्यक्रममाथि छानबीन गर्न विशेष समिति गठन



जनकपुर । मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१/०८२ को विकास योजना तथा कार्यक्रममाथि छानबीन गर्न मधेश प्रदेश सभाले संसदीय छानबीन विशेष समिति गठन गरेको छ । बजेट ल्याउने समय एकदम नजिक भएकोले े मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१/०८२ को विकास योजना तथा कार्यक्रममाथि छानबीन गर्न विशेष समिति गठन गरेको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बताए

विगत लामो समयदेखि जनता समाजवादी पार्टी नेपाललगायतका प्रमुख प्रतिपक्षका सांसदहरुले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंगको भेटलगायतका विषयहरु लिएर विरोध गर्नुका साथै छानबीन समिति गठन गर्न माग गर्दै आएका थिए ।

हिजो (बुधबार) बैठक बस्ने बित्तिकै प्रमुख प्रतिपक्षले अवरोध गरेपछि बैठक आजका लागि स्थगित गरिएको थियो ।

सदनमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले योजना खरिद बिक्री गरेको, सशर्त अनुदानलगायतको विषयमा प्रश्न उठाउँदै सदन अवरुद्ध गरेपछि छानबिन समिति गठन गर्न सर्वदलीय बैठकबाट सहमति भएको थियो।

छानबीन विशेष समितिमा सांसद केशव राय, सांसद कुमरकान्त झा, सांसद किरण कुमारी, सांसद सम्भुकुमार साह, सांसद रोहबर अन्सारी, सांसद रमिता प्रधान, सांसद कनिश पटेल, सांसद उर्मिला देवी सिंह, सांसद कन्चन विच्छा र सांसद बिमला अन्सारी तरन्नुम रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार  ८ : ०७ बजे