सप्तरीमा डाँकाले गरे हत्या, सुनचाँदी र नगद लुटपाट



राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–८, मलहनवामा डाँका समूहको आक्रमणमा परेर एक व्यक्तिको ज्यान गएको छ। डाँका समूहले स्थानीय ५६ वर्षीय कान्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन्।

बिहीबार राति करिब १२ बजे ५-६ जनाको समूहमा आएका डाकाले चौधरीको घरमा जबर्जस्ती प्रवेश गरी आक्रमण गरेका थिए। आक्रमणका क्रममा कान्तलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणमा कान्तलालका भाई ४० वर्षीय रमाकान्त चौधरी घाइते भएका छन्। डाकाले चौधरीको घरबाट ५ तोला सुन, २ किलो चाँदी र करिव ५० हजारभन्दा बढी नगद रकम लुटेका छन्। घटनापछि इलाका प्रहरी कार्यालय कडरबोना तथा जिल्ला प्रहरी कार्यालय राजविराजबाट खटिएको अनुसन्धान टोलीले काम थालेको छ।

घटनास्थलमा एउटा गोलीको खोखा र तीन वटा गोली पनि बरामद भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। डाँका समूहको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र पारिएको उनको भनाई छ। प्रहरीले डाँका समूहको खोजीका लागि विभिन्न शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाएको जनाएको छ।

घटनापछि मलहनवाका स्थानीयवासीहरू भयभित बनेका छन्।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार  १२ : ०३ बजे