काठमाडौं । काठमाडौंको तिनकुनेमा गत चैत्र १५ गते भएको राजावादीहरुको आन्दोलन हिंसामा परिणत भएको घट्नामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएसँगै उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।
इजलासले हिंसात्मक घटनामा संलग्न भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई कारागार पठाएको छ भने बाँकी ३२ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।