सबै क्रियाशील सदस्यबाट सभापति चुन्ने व्यवस्था गरौं : महामन्त्री थापा



काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरअगावै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिर अगावै हुने बताएका हुन् ।

‘विसं २०८४ को निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने भ्रममा नपर्नुहोस्, शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भने अधिवेशन २०८३ मङ्सिरअगावै हुन्छ,’– उनले भने ।

महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशैभरका पार्टी क्रियाशील सदस्यको नवीकरण गरिसक्ने बताए । सदस्यता नवीकरण सकिएपछि नयाँ क्रियाशील सदस्य खोलिने उनको भनाइ थियो ।

उनले पार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार  ७ : ५६ बजे