बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले



हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।

आइतबार साँझ प्रदेश सरकारले प्रस्तुत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयनमा ढिला भएको स्वीकार गरेका हुन् ।

मन्त्री काफ्लेले भने, ‘हामीले कार्यान्वयन पक्षको संरचनागत विकास र कानुनी कारणले गर्दा कार्यान्वयन गर्नलाई ढिला भएको स्वीकार गरेका छौं। तर, हामी त्यसलाई समधान गर्दै अगाडि बढिरहेका छौं भने बजेट कार्यान्वयन अवश्य हुन्छ ।’

हाल प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको कार्यान्वयनमा विभिन्न तहबाट प्रश्न उठिरहेका बेला मन्त्री काफ्लेको यो अभिव्यक्ति आएको हो । उनले समयमै काम सुरु गर्न ढिलाइ भए पनि प्रदेश सरकारले बजेटका सबै कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेका छन् ।

प्रदेशसभा र सरोकारवाला निकायबाट बजेट कार्यान्वयनको प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न दबाब बढिरहेका बेला मन्त्री काफ्लेले कार्यान्वयन पक्षलाई अझ प्रभावकारी बनाउने पहल भइरहेको जानकारी दिए ।

प्रदेश सरकारका योजनाहरू समयमै लागू गर्न, सम्बन्धित निकायहरूको क्षमता अभिवृद्धि तथा कानुनी प्रक्रियाहरूलाई सहज बनाउनेतर्फ मन्त्रालयले प्राथमिकता दिइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  १० : ३४ बजे