उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् ।

सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनपर्ने समेत बताए । उनले यो आर्थिक बर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे ।

उनले नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष भएकाले अरुको भर पर्न नहुने बताए । उनले नेपालको लोकल मदिरालाई समेत विदेशमा बेच्ने तयारी गरिरहेको र अब नयाँ मोडालिटीका साथ अघि बढ्ने समेत बताए ।

उनले भने, ‘मुल्याकंन कहाँ हुन्छ भन्दा उत्पादित वस्तुको हुन्छ । आफ्नो उत्पादनको बजारिकरण गर्न आवश्यक छ । उद्यमशिलतालाई प्राथमिकतामा राखेर समस्यालाई समाधान गर्न आवश्यक छ । कानुन अथवा नीति नियमबाट उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक छ । यतिबेला नेपालमा आर्थिक पूँजीलाई जसरी प्रवद्र्धन गर्नपर्ने हो त्यो हुन सकेन । ललितपूर महानगरपालिकाले आयोजना गर्दा लगानीको क्षेत्रको बजारिकरण भैइरहेको छ । नेपालको उद्योग क्षेत्र प्रतिस्पर्धामा आउन सकेको छैन । नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष हो । हामीले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिन आवश्यक छ।’

त्यसैगरी उनले नेपालमा महिलाहरुले उत्पादन गरेको उत्पादनको ट्याक्स फ्रि भनेर महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  २ : ४९ बजे