बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी ठाकुरसहित ९ जनाविरुद्ध मुद्दा



काठमाडौं, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी र हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज उनीहरुउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध बिना प्रक्रिया परिषद्‍को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको आरोप छ । ठाकुर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍को कार्यकारी निर्देशकको पदमा २०७५ मंसिर ५ देखि २०७९ मंसिर ४ सम्म कार्यरत अवधिमा अन्य प्रतिवादीहरुसँगको आपसी मिलेमतो तथा योजनामा निजी प्रयोग प्रचलनको लागि बा १३ च २०३७ नम्बरको स्कर्पियो गाडी खरिदको लागि बैना दिए ििलएको अख्तियारको आरोप छ । एक वर्ष पश्चात ठाकुरले श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा उक्त गाडी यातायात कार्यालयबाट नामसारी गराएको पाइएको छ ।

त्यसपश्चात ठाकुरले गाडी नं। बा।१६ च ६४७ को गाडी धनी मुकेश यादवसँग गाडी भाडामा लिन सम्झौता गरेको देखाई गाडी भाडा भुक्तानीको लागि निवेदन, सम्झौतालगायतको गलत लिखत तयार गरी मुकेश यादवको नाममा १० लाख भुक्तानी गरेको आरोप छ । ठाकुरसँग ५१ लाख ७१ हजार ८ सय ४४ विगो मागदाबी गरिएको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का लेखापाल सावित्री गिरी, परिषद्‍का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारी चालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देवी साह, जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका बस्ने ठेकेदार जितेन्द्र कुमार यादव, प्रतिवादी बलराम ठाकुरको श्रीमती इन्दुलेखा कुमारी ठाकुरलाई पनि सो मुद्दामा प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : असार ५, २०८२ बिहीबार  ७ : १९ बजे