काठमाडौँ । पतञ्जली जग्गा प्रकरणका अभियुक्त पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग विशेष अदालतले बयान लिन सुरु गरेको छ।
बुधवार विशेष अदालतमा हाजिर भएका नेपालसँग न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बयान लिन थालेको हो।
नेपाल बयान दिनका लागि विशेष अदालत पुगेका थिए। नेपालले यसअघि ‘अदातलमा उपस्थित हुन पाउँ’ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए।
बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूले बताएका छन्। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले नेपालमाथि छानबिन थालेको थियो।
अख्तियारले विशेषमा दर्ता गरेको मुद्दा अनुसार पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, बिगो बराबरकै जरिमाना, सजाय र उच्च पदस्थ व्यक्ति भएर पनि भ्रष्टाचार गरेको आरोपमा थप सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीमाथि अधिकतम १७ वर्षसम्म सजाय गर्न अख्तियारको माग छ।
‘पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर,’ अख्तियारले हालेको मुद्दामा उल्लेख छ।
भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो।