काठमाडौं । विधायन व्यवस्थापन समितिको बुधबार बसेको ८३औँ बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकका विषयमा भन्सार प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
मन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउँदै भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्न भन्सार ऐन संशोधन अपरिहार्य भएको उल्लेख गरे ।
उनले भने, ‘भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सुरक्षित बनाउन भन्सार महसुल संकलनमा दक्षता तथा प्रभावकारीता अभिवृद्धि गर्नुपर्छ । यसको आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक छ । भन्सारका प्रक्रियालाई सरल प्रभावकारी र प्रविधिमैत्री बनाई अगाडि लानुपर्ने आवश्यकता छ ।’
भन्सार ऐन र भन्सार आयोगसँग सम्बन्धित कतिपय प्रावधान संशोधन गर्नुपर्ने देखिएको पनि उनले स्पष्ट पारे । उनले विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव नहुने बताए ।
उनले भने, ‘भन्सार सम्बन्धी प्रावधानहरु भन्सार ऐनबाट संशोधन गर्नुपर्ने देखिएको छ । नेपालको भन्सार कानुन र भन्सार आयोगमा कतिपय कुराहरु संशोधन गर्नुपर्ने देखिन्छ । विद्यमान कानुनी संरचनामा सुधार नगरी आधुनिक र सुरक्षित भन्सार प्रणाली सम्भव हुन सक्दैन ।’