चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच असझदारी हुनु सामान्य विषय भएको बताएका छन्।
चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै देउवाले दुई पार्टी फरक भएकाले कुनै निर्णयमा सामान्य असमझदारी हुँदा ठूलो विषयको लिन नहुने बताएका हुन्।
‘एमाले फरक दल भएकाले कहिले-कहिले असमझदारी पनि देखिन्छ। यो स्वाभाविक हो,’ देउवाले भने, ‘सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ।’ कांग्रेसले आग्रह गरेपछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज हटाएको उनले बताए।
यस्तै सभापति देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने दावी गरे। १४औँ महाधिवेशन सकिएको ४ वर्षपछि आउँदो मंसिरमा महाधिवेशन हुनुपर्ने हो। तर विधानमा एक वर्ष थप गर्न मिल्ने भएकाले विधान अनुसारकै समयमा महाधिवेशन सम्पन्न गरिने सभापति देउवाले बताए।
कांग्रेस सभापति देउवा, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता विमलेन्द्र निधि, सशांक कोइरालालगायतका नेताहरु नेपाली कांग्रेसकी नेतृ, प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जलीसभामा सहभागी हुन चितवन आइपुगेका हुन्।