काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन् ।
उनले भने, ‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली जनताले कुनै पनि हालतमा स्वीकार्ने छैन। यस्तो अपराधिक कामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनि नबन्न आग्रह गर्दछु। यस्तो चिरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने व्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु ।’
उक्त विधेयक गरिबमारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनि बहिष्कार गरेको बताए ।
यस्तै उनले निजामती विधेयक पारित भएमा देशमा आगो बल्ने पनि बताए । उनले आफू यो विधेयक पारित गर्ने मतियार हुन नसक्ने पनि बताए ।
उनले भने, ‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भविष्यलाई कत्लेआम गर्नेगरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन । यदी यो आज पारित भयो भने यो कालो दिन हुनेछ ।’