काठमाडौं, १५ असार । पार्टी अध्यक्ष माधव कुमार नेपालबारे सार्वजनिक रुपमा नबोल्न नेकपा (एकीकृत समाजवादी)ले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न भनेका हुन् ।
‘परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ । तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न र नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ,’– विज्ञप्तिमा भनिएको छ ।
पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष नेपाल विशेष अदालतबाट ३५ लाख धरौटीमा छुटेका थिए ।
पार्टीकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपाललक्षित गर्दैै अब मरेको सिनो बोकेर हिड्न नसकिने बताएकी थिईन् । उनले अर्ली महाधिवेशन गरेर अध्यक्ष चयन गरिनुपर्नेसमेत माग गरेकी थिईन् ।