भोजपुर । भोजपुरको रामप्रसादराई गाँउपालिकामा चार जनाको बीभत्स हत्या भएको छ।
पालिकाको वडा २, धोद्लेखानीमा शनिबार राति एकै परिवारका चार जनाको हत्या भएको हो।
जिल्लाको भोजपुर नगरपालिका–२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राई ससुरालीघर गएको भोलिपल्टै उनको ससुरालीघरमा चार जनाको हत्या भएको हो।
राईकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटना राति सवा १ बजेतिर भएको हो।
राजेन्द्र गम्भीर घाइते छन्। उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ। श्रीमती मनिषालाई लिन भनेर राजेन्द्र ससुराल गएका र उनीहरुबीच विवाद भएको थियो।
राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए। घटनास्थलभन्दा पाँच किलोमिटर टाढाबाट राईलाई प्रहरीले पक्राउ गरेको छ।
राई जिल्ला अस्पतालमा उपचाररत छन्। उनले शनिबार राति सासुआमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।