महानगरको बजेट ल्याउने प्रक्रियामा सहभागी हुन उपमेयर डंगोलको आग्रह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरको बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी छन्।
सोमबार उनले सार्वजनिक सन्देश जारी गर्दै उक्त आग्रह गरेकी हुन्।

‘वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ सार्वजिनक सन्देशमा लेखिएको छ।

महानगगर प्रमुख बालेन्द्र साह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँबीचको असमझदारीका कारण काठमाडौँ महानगरपालिकाले असार १० गते ल्याउनुपर्ने आगामी आर्थिक वर्षको बजेट अझसम्म ल्याउन सकेको छैन।

महानगर प्रमुख र प्रमुख कार्यकारी अधिकृतबीच देखिएको टकरावले गत पुषबाट महानगरको कार्यपालिका बैठकसमेत बस्न सकेको छैन। जसको असर बजेटमा देखिएको हो। गुरागाईँका पक्षमा डंगोलसमेत छिन्।

कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्छ। तर अझसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्र होइन, बजेट तर्जुमा तथा कार्यत्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्त्वपूर्ण समितिका बैठकसमेत बस्न नसकेको भन्दै उपमेयर डंगोलले सकारात्मक प्रयासका लागि आग्रह गरेकी हुन्।

‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौं। हामी सबै हातेमालो गरेर अघि बढौं,’ डंगोलको भनाइ छ। मेयर साहले प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर‍्‍याउनु हुँदैन भन्ने कुरामा डंगोलले जोड छ।

‘यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु,’ तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन्। कानुनी हिसाबले पनि यो उचित छैन भन्नेमा म अडिग छु। प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनको भनाइ छ।

मेयर साहले प्रमुख प्रशासकीय अधिकृतबिना नै कार्यपालिका बैठक डाँक्ने कुरामा समेत उपमेयर डंगोलले आपत्ति जनाएकी छन्।

‘यसरी उहाँलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने संशय जनतामा उठ्न सक्छ,त्यसैले प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिने होइन, बरु उहाँले बैठकमा नै सामना गर्नुपर्ने भएकाले उहाँको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ।’

आइतबार मात्रै आफूले मेयर, प्रवक्ता तथा केही कार्यपालिका सदस्यहरुसँग अनौपचारिक भेटघाटमा समेत बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा छलफल गर्दा सकारात्मक संकेत पाएको पनि उनले उल्लेख गरेकी छन्।

आफूहरुलाई काठमाडौं महानगरबासीले जनहितमा काम गर्न भनेर निर्वाचित गरेको बताउँदै यदि बजेट ल्याउन नसके महानगरबासीलाई धोका हुने उपमेयर डंगोलले भनाइ छ।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  १२ : ११ बजे