निजामती विधेयकमा छेडखानी : छानबिन समितिले बनायो कार्यविधि, बैठक भोली फेरि बस्ने



काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

बुधबार संघिय संसद सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको बैठकबाट कार्यविधिअन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रुप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिएका छन् ।

उनले भने, ‘आज भएको छानबिन समितिको बैठकमा हिजो छलफल गरेको कार्यविधिका बारेमा नै छलफल गरेका छौ । त्यो कार्यविधि अन्तिम चरणमा पुगेको छ । अबको काम कसरी अगाडी बढाउने भन्ने बारेमा पनि छलफल भएको छ । आजको बैठकले कार्यविधिलाई अन्तिम रुप प्रदान गर्ने निर्णय गरेको छ ।’

उनले समितिको अर्को बैठक भोली १२ ः १५ मा बस्ने तय भएको पनि बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेको छ ।

प्रकाशित मिति : असार २५, २०८२ बुधबार  ७ : ३४ बजे