काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ साहले कार्यपालिका बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो २ बजेका लागि कार्यापालिका बैठक बोलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका हुन्।
महानगरले दिएको जानकारी अनुसार शुक्रबार नै ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ। त्यसपछि उपप्रमुख नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।
शुक्रवारकै कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेस गर्न प्रस्ताव गर्ने छ।
सोही कार्यपालिकाले नगरसभाको मिति तोक्नेछ भने असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतको भनाइ छ।
मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीचको विवादका कारण महानगरको कार्यपालिका बैठक बस्न सकेको थिएन।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म बजेट पारित नभए बजेट होलिडेको अवस्था सिर्जना हुन लागेपछि बालेनले बजेटको प्रक्रियाका लागि बाटो खोल्ने अवस्थामा पुगेका हुन्।
मेयर साह यसअघि प्रमुख प्रशासकीय अधिृकतबिना नै कार्यपालिका बैठक बोलाउने अडानमा रहे पनि अहिले भने उनी प्रमुख प्रशासकीय अधिृकतसहितको बैठक बोलाउन बाध्य भएका हुन्।
बालेन-गुरागाईँ द्वन्द्वका कारण ७ महिनाभन्दा बढी समययता कार्यपालिका बैठक बस्न सकेको थिएन। हरेक महिना हुनुपर्ने महानगरको कार्यपालिका बैठक गत पुसयता बस्न सकेको थिएन।