थप २६ जनालाई कांग्रेसले गरायो सचेत,निर्वाचनमा असहयोग गरेको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले थप २६ जनालाई सचेत गराएको छ । समितिको ०८२ असार ९ देखि १७ गतेसम्म बसेको बैठकले थप २६ जनालाई सचेत गराउने निर्णय गरेको हो । पार्टीबाट उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका प्रस्तावक तथा समर्थकलाई सचेत गराइएको समितिले जनाएको छ ।

कैलालीका दुई, डोल्पाका १०, सल्यानका ११, दैलेख, खोटाङ र धनुषाका एक–एकजना गरी २६ जनालाई पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरिएको समितिको विज्ञप्तिमा उल्लेख छ ।

“कोसी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, वाग्मतीबाट चार, गण्डकीबाट तीन, लुम्बिनीबाट ३६, कर्णालीबाट चार र सुदूरपश्चिमबाट एकजना गरी जम्मा ८८ जनाको निवेदन २०८२ असार २२ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिएको छ,” बिहीबार सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

समितिले बुधबार प्रदेश महामन्त्री र जिल्ला सभापतिसहित ६ जनालाई पार्टीबाट निष्कासन तथा १२ जनालाई निलम्बन गरेको थियो ।

पार्टीबाट उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका प्रस्तावक तथा समर्थकलाई सचेत गराइएको समितिले जनाएको छ ।

प्रकाशित मिति : असार २६, २०८२ बिहीबार  ६ : ११ बजे