मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित, इन्द्र बानियाँको पक्षमा बहुमत



काठमाडौँ । बागमती प्रदेशसभामा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ।

मंगलबार सम्पन्न मतदानमा लामाको पक्षमा १५ सांसद उभिए भने विपक्षमा २२ सांसदले मत दिए।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो। बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो।

गत शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन्।

बागमतीका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आजै राजीनामा दिएर बानियाँको पक्ष लिएका हुन्।

अब नयाँ संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुनेछ। उक्त निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका खुल्नेछ।

तर, आफ्नै पार्टीका लामालाई दलको नेताबाट हटाएका बानियाँका लागि प्रदेशसभामा अर्को चुनौती छ। यदि लामाले आफूलाई हटाएको बदला फ्लोर क्रस गरेर लिए भने बानियाँ एक पटक फेरि मुख्यमन्त्रीबाट बञ्चित हुन सक्नेछन्।

बानियाँ २०७९ को निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा तत्कालीन माओवादी केन्द्रसहितको सत्ता गठबन्धबाट विजयी भएका थिए।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरेका थिए। उनी यसअघि पनि मुख्यमन्त्रीको दौडमा थिए। तर उनलाई अवसर नदिइ कांग्रेसले नुवाकोटका लामालाई अवसर दिएको थियो।

यसअघि, सोमबार साँझ अविश्वास प्रस्तावमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन बनेको थियो। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको थियो।

गत शुक्रबार कांग्रेसका चार मन्त्रीले राजीनामा दिएर इन्द्र बानियाँको पक्षमा खुलेका थिए।
मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेका र योजना बेचेको आरोप लगाउँदै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट भएका थिए।

राजीनामा दिनेमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ रहेका छन्।

उनीहरुले प्रदेशमा संसदीय दलको नेता परिवर्तन गर्न आफूहरूले राजीनामा दिएको बताएका थिए।

२०७९ पुस १३ गते भएको निर्वाचनमा बानियाँलाई ५ मतले हराएर लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए। बागमतीमा कांग्रेस र एमालेका गठवन्धन सरकार छ। कांग्रेसका ३७ जना सांसद छन्।

यसबीच सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास चलेको थियो। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू मीना पराजुली र माया श्रेष्ठले विज्ञप्ति जारी गरेरै प्रस्ताव फिर्ता लिएको र लामाकै पक्षमा रहेको बताएका थिए। तर, पराजुली फेरि बानियाँकै पक्षमा फर्किएकी छन्।

प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार  ३ : ०६ बजे