जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन् ।बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरुले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताए । देउवाल आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लढेको र सबै निर्वाचन जितेको भन्दै धेरै राजनीतिक दलका नेताहरु आफूलाई हराउन लागेको भएपनि सफल नभएको उललेख गरे ।

सभापति देउवाले भने, ‘यहाँ धेरै साथीहरुले कुरा उठाउनुभएको छ । आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने । कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरुले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिले पनि हारेको छैन । धेरै पार्टीका नेताहरु मेरो खिलाफमा लाग्नुभयो, मेरो विरुद्धमा डडेलधुराबाट तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु । जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । सबै साथीहरुले जनताको सेवा गरौँ ।’

सभापति देउवाले आफ्नो अब धेरै उमेर नरहेकाले कसैलाई चिन्ता नगर्न आग्रह गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र ४, २०८२ बुधबार  ७ : ४२ बजे