काठमाडौं । आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।
कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तिर्थस्थलमा भीड लागेको छ ।
कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देख्न सकिन्छ । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ ।
आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । —न्युज एजेन्सी नेपाल









