पशुपतिनाथमा तीजको रौनक (तस्विरहरु)



काठमाडौं। हिन्दु महिलाहरुले आज हरितालिका (तीज) पर्व, देशभरका शिवालयहरूमा भगवान् महादेवको पूजाआराधना गरी मनाइरहेका छन् । व्रत, पूजाआजा गरी उनीहरूले तिज मनाइरहेका हुन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा गरे सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि तिर्थालु र व्रतालु महिलाहरूको ठूलो घुइँचो लागेको छ। अविवाहित महिलाहरूले राम्रो जीवनसाथी पाउने कामनासहित र विवाहित महिलाहरूले श्रीमान् तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने चलन छ।

पौराणिक मान्यता अनुसार, सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउनका लागि कठोर तपस्या गरेकी थिइन्। उनका पिता हिमालयले पार्वतीको इच्छा विपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका साथीहरूले उनलाई हरण गरेर लुकाएर राखेका थिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। त्यसैले, पार्वतीलाई हरण गरिएको दिन भाद्र शुक्ल तृतीयाको सम्झनामा यो व्रत लिने प्रचलन सुरु भएको शास्त्रीय कथन छ।

प्रकाशित मिति : भाद्र १०, २०८२ मंगलबार  ३ : १३ बजे