सुशीला कार्की नयाँ प्रधानमन्त्री बन्दै, सपथको तयारी



काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी समूहका तर्फबाट सिफारिस पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। शपथ ग्रहण केही समय हुने शीतल निवास स्रोतले जनाएको छ।

कार्कीलाई संविधानको बाधा अड्काउ फुकाउ बुँदामा टेकेर सरकारको नेतृत्व दिन लागिएको भनाइ छ।

यसअघि बिहीबार दिनभर राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग निरन्तर छलफल गरेका थिए। उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतसँग टेलिफोनमा परामर्श गरेका थिए।

जेनजीका प्रतिनिधीहरुले बिहीबार राति १० बजे पनि कार्कीलाई फोन गरेर देशको अभिभावकत्व लिइदिन आग्रह गरेका थिए। जेनजी प्रतिनिधीसँग कार्कीले कानुनी कुराहरु सहज भएमा देशको नेतृत्व लिन आफू तयार रहेको तर त्यसका लागि राष्ट्रपतिसँग छलफल हुनुपर्ने बताएकी थिइन्। त्यसपछि जेनजी प्रतिनिधिहरुले सेना प्रमुखलाई यसको समन्वय गरिदिन आग्रह गरेका थिए।

त्यसपछि बिहीबार राति नै राष्ट्रपति पौडेल, प्रधानसेनापति, सुशीला कार्की र कानुनी सल्लाहकार बाबुराम कुँवर छलफलमा बसेका थिए।

बिहीबार साँझ मात्र राष्ट्रपति पौडेलले विपिन अधिकार, भिमार्जुन आचार्य लगायतका केही कानुनविदसँग नयाँ सरकारको गठन प्रक्रिया र त्यसको कानुनी पक्षबारे छलफल गरेको पनि बताइएको छ। पूर्व प्रन्यालाई सरकारको नेतृत्व दिँदा पैदा हुने कानुनी पक्षको कुरा पनि सो छलफलमा उठेको थियो।

संविधानविदहरूसँगको परामर्शमा राष्ट्रपतिले संसदमार्फत नियुक्ति सम्भव नभएको र तत्काल प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दबाब रहेको बताएका थिए। संविधानविदहरूले संकट व्यवस्थापनका लागि राष्ट्रपतिले संविधानको संरक्षकको भूमिकामा प्रधानमन्त्री नियुक्त गर्न सकिने सुझाव दिएका थिए।

प्रकाशित मिति : भाद्र २७, २०८२ शुक्रबार  ९ : ०८ बजे