जेनजी प्रदर्शनमा अत्थाधिक दमन गर्ने दोषीउपर सख्त कारबाही हुन्छ : प्रधानमन्त्री कार्की



काठमाडौँस् प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीका क्रममा विद्यार्थी र युवायुवतीले ज्यान गुमाएको भन्दै सम्बद्ध दोषीउपर सख्त कारबाही हुने बताएकी छन्। गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि बिहीबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीहरूले अनाहकमा ज्यान गुमाउनुपरेकोमा यो सरकार सम्बद्ध दोषीहरू उपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ।’

अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीबारे भैरहेको बहसबारे पनि उनले बोलेकी छन्। उनले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्रभित्र नपर्ने उनले बताइन्। उनले पछि आउने निर्वाचित सरकारलाई संवैधानिक प्रक्रियाबाटै उक्त संशोधन गर्न आग्रह गरेकी छन्।

नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको उनको भनाइ छ। आगामी फागुन २१ गते संसदीय निर्वाचनको मिति तोकिएको छ। तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनले बताइन्।


निर्वाचनमा विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी उनले दिइन्।
विगतमा भएका भ्रष्टाचारहरूबारे सरकार गठन भएको छोटो समयमै प्रष्ट जानकारी पाएको भन्दै उनले यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने बताइन्। उनले प्रदर्शनका क्रममा व्यक्तिका निजी घर दोडफोड र आगजनी हुँदा स्वभाविक रुपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसके पनि जानकारी दिइन्।

प्रकाशित मिति : आश्विन ९, २०८२ बिहीबार  ७ : २६ बजे