नेपालमा शान्ति र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज हुनसक्छ : राजदूत क्षेत्री



क्षितिज विक्रम खनाल,अबुधावी युएई। संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे कुराकानी गर्दै दूतावासको धारणा राखेका छन्।

राजदूत क्षेत्रीका अनुसार, युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात उत्पन्न राजनीतिक जटिल परिस्थिति पनि हो। उनले भने “युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडी बढिरहेको देश हो। नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदी बन्दी तथा अपराधी बाहिरिएका छन्। जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौं, तबसम्म युएईजस्ता देशहरूले भिषामा कडाई हुन सक्ने देखिन्छ।”

युएई सरकारले भिषा कडाई गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासलाइ प्राप्त नभएको तथा देशको सुरक्षाको दृष्टीले यस किसिमका उपाय तथा सावधानीहरू अपनाउन लिइएको कदम हुनसक्ने क्षेत्रीले बताए ।

युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगि र मानव बेचबिखनका घटनाबारे उनले गम्भीर चिन्ता व्यक्त गरे। भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उनको भनाइ छ। “हाम्रो दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन्। यस्ता अपराध गम्भीर प्रकृतिका हुन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ। प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,” उनले भने।

क्षेत्रीले नेपालीनागरिकहरूलाई सचेत गराउदै भने “युएई रोजगारीमा आउदा सरकारबाट मान्यताप्राप्त एजेन्सीबाट मात्र आउनुन र सरकारले तोकेको रकम मात्र बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नुपर्छ। यसले कानुनी प्रक्रिया अघि बढाउन सजिलो हुन्छ।” उनले थप सुझाव दिँदै भने कि युएईमा नेपालीहरूको संख्या ७ लाख भन्दा बढी भएकाले बिभिन्न ठगी मानव बेचवखन तथाअपराधीक घटनाहरू तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्य देशले अपनाएका सुरक्षा प्रणाली जस्तै दूतावास मातहतमा यस्ता ठगी र अपराधिक गतिविधिमा संलग्नलाई आवश्य कारबाही तथा नियन्त्रण गर्न मद्दत पुर्‍याउने संयन्त्र आवश्यक देखिएको छ ।

उनले भने, “यदि नेपालले आफ्नो आन्तरिक स्थिरता, शान्ति र कानुनी विश्वसनीयता पुनःस्थापित गर्न सक्यो भने युएईले भिसा कडाइ चाँडै सरल सहज र खुकुलो बनाउने बिश्वास छ ।” दूतावासले पनि आवश्यक पहल गरिरहेको पनि उनले जानकारी दिए । ।

प्रकाशित मिति : आश्विन २१, २०८२ मंगलबार  ९ : ५१ बजे