काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन् ।
मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेको थियो ।
अनेरास्ववियुका नेताहरुले दिएको जाहेरी प्रहरीले बुझेको र दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र निर्णय लिइने बताइएको छ ।
तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन आफूहरु परिसर आएको अखिलले बताएको छ । भदौ २४ मा जेन—जी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो ।









