एमालेसँग एकताको ढोका खुला छ: झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)सँग एकताको ढोका खुला रहेको बताएका छन् ।

नेता खनालले जनताको बहुदलीय जनवादमात्र नभएर समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए आफूहरू एमालेमा फर्किन सक्ने बताएका हुन् ।

“एमाले फर्कन तयार छौँ । तर, समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भएमात्र हामी फर्कन सक्छौँ,” खनालले भने ।

उनले आफूलाई अहिले पनि एमालेप्रतिको माया रहेको बताए । “सुरुमा हामीले बनाएको त्यही पार्टी हो । हामीलाई त्यो पार्टीप्रति माया, ममता अहिले पनि छ,” उनले भने ।

उनले थपे, “यदि त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरूलाई सच्याउँछ र वैचारिक धरातलमा सही विचारमा फर्किन्छ भने, हामी पुनः एकताबद्ध भएर जान सक्छौँ ।”

तर, खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाए । “एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौं । तर, ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,” उनले भने ।

नेकपा (एकीकृत समाजवादी)ले नेकपा (मा‌ओवादी केन्द्र)सँग एकता गर्न सहमति गरिसकेको छ । तर, खनालसहितका नेताहरूले एकतामा नजाने बताएका छन् ।

प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार  १२ : १९ बजे