काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् ।
उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताएका हुन् ।
भुसालले आफूहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गरे । आफूहरूको पहिल्यै राजनीतिक दल रहेको उनले बताए । उनले आउँदो निर्वाचनमा एजेन्डासहित प्रस्तुत हुने सुनाए ।
सबै राजनीतिक दलले चुनावको प्रचारप्रसार गरेपछि ‘लतारिएर’ निर्वाचनमा आउनुको विकल्प ओलीसँग नहुने उनले तर्क गरे । सरकारको तयारी, राजनीतिक वातावरणका हिसाबले निर्वाचन सार्नु वा नहुनुपर्ने कुनै कारण नरहेको उनले बताए ।
अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ । जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र संसद विघटन भएसँगै सुशीला कार्कीको अन्तरिम सरकार बनेको थियो ।
अन्तरिम सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन् ।









