काठमाडौं । बाराको सिमरा विमानस्थल क्षेत्रमा जेनजी पुस्ताका युवाहरू र नेकपा एमाले समर्थित युवाहरूबीच झडप भएको छ।
राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीको आयोजनामा बाराको परवानीपुर गाउँपालिका- ४ चैनपुरमा हुन लागेको युवा जागरण अभियानमा प्रमुख अतिथिको रुपमा पोखरेल र बस्नेत आउन लागेपछि सिमरामा युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
पोखरेल र बस्नेत आउनेभएपछि प्रदर्शन चर्किँदै जाँदा सिमरा विमानस्थलमा तोडफोडसमेत भएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिइरहेको छ।
स्थिति नियन्त्रणबाहिर गएको र नियन्त्रणमा लिने प्रयास भइरहेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् । तामाङका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आज दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेका छन् ।









