आठ लाख ३७ हजार नयाँ मतदाता थपिए



काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

फोटो तथा औँठा छापसहितको जैविक विवरण ९बायोमेट्रिक्स०मार्फत तीन लाख ४४ लाख ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या थप बढेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मतदाताको संख्या समावेश गर्दै मतदाता नामावली संकलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।

सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मंसिर ५ गतेसम्मका लागि समय थपिएको थियो । रासस

प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार  १२ : ०८ बजे