कर्णाली याक्सलाई हराउँदै विराटनगर किंग्सको चौथो जित, बसिरले हाने अर्धशतक



काठमाडौँ। बसिर अहमतको अर्धशतकको सहयोगमा कर्णाली याक्सलाई हराउँदै विराटनगर किंग्सले चौथो जित दर्ता गरेको छ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित १९।५ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदै लक्ष्य पूरा गर्यो।

विराटनगरको लागि ३५ बलमा बसिर अहमले अर्धशतक पूरा गरे। उनले तीन चौका र दुई छक्का प्रहार गरे। उनले ४३ बलमा ६३ रन बनाउँदै टिमलाई अन्तिममा छक्का प्रहार गरेर जित दिलाए। कप्तान सन्दीप लामिछानेले चार बलमा ६ रन बनाए।

यस्तै, नारायन जोशीले १६ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २५ रन बनाएर आउट भए। साहिल पट्टेलले १९, साम हेज्लेटदे १६ रन बनाउँदा ओपनर लोकेश बम र प्रतिश जिसीले समान ६ रन बनाए।

यता, कर्णालीका लागि गुलसन र सोमपालले समान दुई विकेट हात पारे।

त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो।

कर्णालीको लागि प्रियंक पञ्चालको अर्धशतकिय पारी खेले। उनले ४७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै, विलियन बोसिस्टोले ४८ रन बनाए। उनले ४८ बलमा दुई चौका प्रहार गरे।

दोस्रो विकेटको लागि विलियन र प्रियंकले ९२ रनको साझेदारी गरे। मार्क वार्ड ९ बलमा ६ रन बनाएर क्याच आउट भए। गुलसन झाले १० बलमा एक छक्का र दुई चौका प्रहार गर्दै २० रन बनाएर आउट भए।

यता, विराटनगरको लागि बलिङतर्फ मर्चान डि लेङ्ले र कप्तान सन्दीप लामिछानेले एक विकेट लिए।

प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार  ९ : ०० बजे