काठमाडौं । आगामि २० फागुनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत हाल्न पाउने भएका छन् । २० मंसिरको निर्णय अनुसार यस्तो व्यवस्था मिलाईएको आयोगले जानकारि गराएको हो ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी मिति २०८२-८-५ सम्म देशभरबाट संकलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मिति २०८२-८-२० मा निर्णय भएको छ,’ आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संकलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि २६ मंसिरसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार नाम हटाउने, दाबी–विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सकिने छ ।
आयोगले भनेको छ, “पुनरवलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक (दाबीविरोध) कार्यक्रममा यही मंसिर २६ गते भित्र नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दाबीविरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सक्ने सुविधा समेत रहेको छ ।”
मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालय गई वा आयोगको वेबसाइट मार्फत अनलाइन निवेदन पनि आयोगले आग्रह गरेको छ ।










