सरकार र जेनजीको सम्झौता नाटक मात्रै हो : ओली



काठमाडौँ । नेकपा (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा नेपाल सरकार र जेनजीका प्रतिनिधिका नाममा बुधबार भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले यस प्रकारको सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो भन्ने प्रश्न गर्दै वर्तमान सरकार नागपञ्चमीमा घरमा कसैले गोबर लगाएर टाँसिदिएको नाग जस्तै भएको टिपणी पनि गरे ।

“विघटित संसद्लाई जनसमर्थन गुमाएको संसद भनेर सम्झौतामा भनिएको छ । त्यो यथार्थ होइन । असान्दर्भिक र अराष्ट्रिय भावना बोकेकाहरुले परिस्थितिलाई विध्वंशका माध्यमबाट आफ्नो कब्जामा लिन खोजेका मात्रै हुन् । त्यसकारण यो सरकारलाई यस प्रकारको सम्झौता गर्ने जनादेश छैन ।”, उनले भने, “यो देशमा एमाले र नेपाली काँग्रेसजस्ता पुराना र ठुला राजनीतिक दलहरु सक्रिय छन् र आगामी फागुन २१ गते पछि पनि नेपालको समय छ भन्ने सरकारले बुझ्नुपर्छ । त्यस कुरालाई हेक्का राखेर काम गर्न म आग्रह गर्दछु ।”

पार्टीको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रश्नमा उनले सहमति भएमा वा प्रतिनिधिहरुले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहन सक्ने बताए ।

महाधिवेशनले यथास्थितिमा केही न केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गर्दै उनले कुनै पूर्व शर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार  ३ : १३ बजे