काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ‘लोसपा’ बागमती प्रदेशले प्रदेशअन्तर्गतका सम्पूर्ण निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभा सदस्यतर्फका उम्मेदवारहरूको नामावली केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरेको छ।
बागमती प्रदेश समितिका अध्यक्ष करण श्रेष्ठले प्रत्यक्ष तथा समानुपातिक प्रणालीअन्तर्गतका उम्मेदवारहरूको नामावली पार्टीका आदरणीय केन्द्रीय अध्यक्ष महन्थ ठाकुरज्यू समक्ष औपचारिक रूपमा बुझाएका हुन्। उक्त सिफारिस पार्टीको आन्तरिक प्रक्रिया अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीस्वरूप गरिएको जनाइएको छ।
प्रदेश अध्यक्ष श्रेष्ठले सिफारिसमा पर्न सफल सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन उम्मेदवारहरूले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
लोसपा नेपालले बागमती प्रदेशमा संगठन सुदृढीकरण, जनसमर्थन विस्तार तथा आगामी निर्वाचनलाई लक्षित गर्दै रणनीतिक तयारीलाई तीव्र बनाउँदै आएको जनाएको छ।









