काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरेको छ । माघ ९ गतेसम्म सकिने गरी समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरिएको हो ।
शुक्रबार ९पुस २५० बाट मतपत्रको छपाइको काम सुरु गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईले समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह समावेश रहेको पनि बताए । ूसमानुपातिकतर्फको मतपत्रमा जम्मा ५८ वटा निर्वाचन चिह्न रहेका छन् । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने जम्मा ६४ वटा दलका ५८ वटा चुनाव चिन्हहरू भएको कुरा हामीले यसअघि नै सम्प्रेषण गरिसकेका छौँ, उनले भने ।
माग १० गतेपछिबाट प्रत्यक्षतर्फको मतपत्र छपाई भने माग १० गतेपछिबाट शुरु गरिने प्रवक्ता भट्टराईले बताए ।
प्रत्यक्ष तर्फको उम्मेदवारहरूको मनोनयन माग ६ गते हुने र ९ गते उनीहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेकाले त्यसपछि मतपत्र छपाइको काम सुरु गर्ने उनले बताए।
उनका अनुसार मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको जम्मा १० लाख नमूना मतपत्र छपाइ भएको छ ।उनले भने,‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको जम्मा १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको छ । नमूना मतपत्र समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो कागजमा कालो रङ्गको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ सेतो कागजमा रातो रङ्गको रहेको छ । हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको छ । साथै आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको छ । समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ ओटा दलहरूका जम्मा ५८ ओटा चुनाव चिन्ह समावेश छन् । मतदाता संख्याको आधारमा समानुपातिकतर्फ सरदर दुई करोड थान मतपत्र छपाइ गरिनेछ ।’
त्यस्तै उनले आसन्न आम निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने, निर्वाचनसम्बन्धी जानकारी, सूचना एवम् गतिविधि सम्प्रेषण गर्ने र सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानी लगायतका विषयमा अनुगमन गरी गैरकानुनी कार्यलाई कानुन बमोजिम दण्डित गर्न नियामक निकायहरूसँग सहकार्य गर्ने नीति आयोगले लिएको पनि बताए ।
उनका अनुसार यसै सन्दर्भमा यो हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको छ भने मेटा, टिकटक, एक्स (ट्वीटर) लाई पत्राचार समेत आयोगले गरेको छ ।









