काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् ।
महामन्त्री शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयास गरेर ८ बुँदामा सहमति प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताएका छन्।
देउवा पक्ष ती बुँदामा सम्झौता नगरी केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहितलाई कारबाही गरेको हो। कारबाहीपछि शर्माले, ‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?’ भनेर प्रश्न गरेका छन्।
उनले आफूहरूलाई कारबाही गरिएपछि मुस्कुराउँदै फेरि यी बुँदाहरू पढेको बताएका छन्। उनले कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफू दृढ भएको बताएका छन्। उनले भनेका छन्, ‘विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’









