सरकारले भन्यो : जुनसुकै अवस्थामा पनि निर्वाचनको मिति तलमाथि हुँदैन



काठमाडौंं ।अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने बताएको छ । शुक्रवार मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीले कांग्रेस विवादले निर्वाचन र मनोनयनको मिति सर्छ भनेर सोधेको प्रश्नको जवाफमा समेत प्रवक्ता खरेलले निर्वाचन नसर्ने बताए।

उनले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने दाबि गरे ।सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीताका साथ लागेको खरेलले बताए ।

मन्त्रिपरिषद् बैठकले विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री जगदीश खरेलले जानकारी दिए।

उनले भने, ‘नेपालमा मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाको लागि विश्व वातावरण सुविधाबाट, विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।’

उनका अनुसार बैठकले सहकारीमा भएको वेतिथि सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्व न्यायाधिश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको वेतिथि सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा महोम्मद सफि उल्लाहालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार  ७ : ४३ बजे