आसिफ चम्किँदा नेपालले क्यानडालाई हरायो



काठमाडौं । आगामी शनिबारदेखि सुरु हुने आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को पूर्वसन्ध्यामा भएको अन्तिम तयारी खेलमा नेपालले क्यानडामाथि ६ विकेटको प्रभावशाली जित दर्ता गरेको छ ।

क्यानडाले प्रस्तुत गरेको १६२ रनको लक्ष्यलाई नेपालले अत्यन्तै सहजताका साथ पछ्याउँदै प्रतियोगिताअघि आफ्नो ब्याटिङ र बलिङ दुवै पक्ष मजबुत रहेको संकेत दिएको छ । यो जितसँगै नेपालले आफ्ना दुवै वार्म-अप खेलमा जित निकाल्न सफल भएको छ, जसले टोलीको मनोबल उच्च बनाएको छ ।

पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । क्यानडाका लागि नवनित धालिवाल र कँवरपाल तथगुरले ६३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए पनि नेपाली स्पिनर सन्दीप लामिछाने र कुशल भुर्तेलले २(२ विकेट लिएपछि क्यानडाको मध्यम क्रम केही धर्मराएको थियो । तर, अन्तिम ओभरहरूमा श्रेयस मोवाको अविजित ३८ रन र जसकरण सिंह बुट्टारको आक्रामक ब्याटिङको मद्दतले क्यानडाले अन्तिम दुई ओभरमा ३५ रन बटुल्दै चुनौतीपूर्ण योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले सुरुवातमा कुशल भुर्तेललाई सस्तैमा गुमाए पनि आसिफ शेख र सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गरे ।

आसिफ शेखले मात्र २९ बलमा ५८ रनको विष्फोटक पारी खेल्दै नेपाललाई जिततर्फ डोर्‍याए भने अर्कोतर्फबाट सन्दीप जोराले धैर्यतापूर्वक ब्याटिङ गर्दै ८४ रनको साझेदारी गरे । आसिफ रिटायर्ड आउट भए पनि मध्यक्रमका ब्याटरहरूले बाँकी काम पूरा गरे । क्यानडाले खेलको अन्त्यतिर केही विकेट लिए पनि नेपाललाई जितबाट रोक्न सकेन ।

प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार  ५ : ०० बजे