फागुन २१ को निर्वाचनमा काँग्रेसलाई शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैनः सभापति थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पु¥याउन सके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दाबी गरेका छन् ।

शुक्रवार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सो दाबी गरेका हुन् ।

सभापति थापाले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताए ।उनले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए ।

“नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै जवाफ दिनु आवश्यक छ” सभापति थापाले भने,“नागरिकमा अविश्वास बढ्दै गएको छ । चरम निराशा छ । यी सबै कुरालाई आत्मसात गर्दै देशलाई सम्हाल्नु छ । देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्छ ।”

सभापति थापाले राष्ट्रमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै अब भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा आफ्नो पार्टी बदलिएर चुनावमा आएको उल्लेख गरे ।

प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार  ८ : १२ बजे