काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको दाबी गरे ।
सभापति थापाले भने,‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’ स्वास्थ्य बीमा सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले धेरै बिरामीलाई भेटेर समस्या बुझेपछि यो योजना अघि सारेको बताए । उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको ।’
कांग्रेसको सङ्कल्प पत्रमा स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने विस्तृत योजना समेटिने जानकारी दिँदै उनले जिम्मेवारी पाएको खण्डमा यसलाई राष्ट्रिय गौरवको आयोजना बनाउने प्रतिबद्धता जनाए ।














