काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्न राजनीतिक दल र उमेदवारहरुलाई निर्देशन दिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको १५ दिने प्रचारप्रसारको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाटमा उनले आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट पारे ।
आगामी निर्वाचनको कार्यतालिकाअनुसार फाल्गुन ३ गते राति १२ बजेपछि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उमेदवारहरुले निर्वाचन प्रचार प्रसार गर्न पाउनेछन् ।
भण्डारीकाअनुसार राजनीतिक दल र उमेदवारहरूले फाल्गुन १८ गते राती १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् । त्यसपछि ‘मौन अवधि’ शुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ ।














