नेपाली कांग्रेसको निष्कर्ष : अतिलोकप्रियताबाद र प्रतिगमनका पक्षधर शिथिल हुँदैछन्, कांग्रेसमा आकर्षण बढ्यो



काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको पूर्वाभ्यास भइसकेको बताएका हुन् ।

प्रवक्ता चालिसेले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको स्थिति सम्हाल्न र लोकइच्छा मुताविक समृद्ध राष्ट्रका लक्ष्यहरू पूरा गर्नसक्ने एक मात्र दल काँग्रेस भएको जिकिर गरे ।

चालिसेले अतिलोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आममनोविज्ञानलाई प्रभावित पार्ने तत्वहरू शिथिल बन्दै गएको र कांग्रेसका पक्षमा प्रवेशको लहर चलेको दाबी पनि गरेका छन् ।

उनले विभिन्न दलमा उच्चस्तरको भूमिकामा रहेका राजनीतिक व्यक्तित्व, जनप्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारहरूको नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर बढेको पनि बताएका छन् ।

उनले भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिकको मौलिक अधिकार भएको उल्लेख गरे । नागरिक अधिकारको सम्मान गर्न सरकारको सम्पूर्ण संयन्त्र परिचालन गर्नु उसको कर्तव्य रहेको उनले बताए ।

उनले भने, ‘भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिकको छ । नागरिक अधिकारको सम्मान गर्नको लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गर्नु उसको कर्तव्य हो । सरकारको वैधताको स्रोत नागरिकहरुको मत हो । त्यो भन्दा भिन्न अवस्थाको कल्पना गर्न सकिँदैन ।’

प्रकाशित मिति : फाल्गुन १४, २०८२ बिहीबार  ७ : ०१ बजे