आगामी तीन दिन तीव्र हावाहुरी, हिमपात र वर्षा : सचेत रहन प्राधिकरणको आग्रह



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारबाट तीन दिन सम्म देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

बिहीबार प्राधिकरणले सूचना जारी गर्दै प्रि मनसुनको अवधि पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालमा हावाहुरी चल्ने सम्भावना औँल्याएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्राधिकरणका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ।

साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८२ बिहीबार  ५ : १२ बजे