काठमाडौं । इजरायल–अमेरिका र इरानबीच युद्ध जारी रहदा प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा हालसम्म सातजना नेपाली पक्राउ परेका छन् ।
इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म सातजना नेपालीलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार, पक्राउ परेका व्यक्तिलाई १ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ । साथै, प्राइभेट म्यासेजमा समेत त्यस्ता सामग्रीहरू सेयर गर्न वर्जित भएकाले त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
परराष्ट्रले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।
उनका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए ।
तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ ।














