काठमाडौं, १० चैत्र । रास्वपाका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्धको रिटको सुनुवाइ आज मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ ।
यो रिटको सुनुवाई अब आगामी चैत्र १२ गते बिहीबार हुने भएको हो ।
रिटमा निवेदकको तर्फबाट बहस सकिएको छ । अब सरकारी वकिल र लामिछानेसहितका पक्षका कानून व्यवसायीहरुको बहस बाँकी छ।
हिजो ९सोमबार० न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत २ माघमा रवि लामिछानेको आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवाद सुरु भएको हो ।
भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद लिएको हो ।
महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् ।














