काठमाडौं, १५ चैत्र । सरकारले विद्यालय तहदेखि उच्च शिक्षासम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको हो।
आज ९आइतबार० मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यस्तो कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने हुँदा बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रियाअघि सञ्चालन गरिँदै आएका ‘इन्ट्रान्स प्रिपरेशन’ कक्षा र ‘ब्रिज कोर्स’ नामका कार्यक्रम पूर्ण रूपमा रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको उल्लेख छ।
यदि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अनुरोध गरेको छ।














