काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।
विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताएकी हून ।
उनले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘सबै मानिस स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका अन्य संवैधानिक हक जस्तै स्वच्छ वातावरणको हक खध्य सुरक्षाको अधिकार, उपभोक्ताको हक पनि महत्त्वपूर्ण रहेको छ । मैलीक हक अधिकार कार्यान्वयन गर्न स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।’
यस वर्षको नारा ‘मानव, पशुपन्छी र वातावरणको हित विज्ञान र एक स्वास्थ्य, हाम्रो जित’ लाई उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्यका विविध आयामहरूबीचको अन्तरसम्बन्धमा जोड दिइन् ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपंक्षीबीचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताईन् ।














