काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गरेका छन् । ।
संघीय संसदका संयुक्त सदनलाई सम्बोधन गर्दै उनले जनताले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तिब्र आकांक्षा राखेको बताएका हून् ।
राष्ट्रपति पौडेलले सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै निर्वाचन सम्पन्न हुनु सकारात्मक कदम भएको बताए ।
उनले भने,‘नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ । यसले संघीय लोकतन्त्र गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण ,विश्वास ,सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ । जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र तथा तहमा भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना, मुलुकभित्रै रोजगारीको अवसर,सामाजिक आर्थिक विकासको आकांक्षा राखेका छन् । पछिल्लो पटकको युवा पुस्ताको आन्दोलन मार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो ।’














