३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा। भाइकाजी तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारले श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
तिवारीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती तथा छोरीको नाममा समेत राखेको देखिएकाले सम्पत्ति जफतको लागि मात्र श्रीमती र छोरीविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उनले १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।
२०४४ भदौ १९ गतेदेखि २०७८ वैशाख ९ गतेसम्म तिवारीले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गर्दा तिवारीले १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ वैधानिक आयआर्जन गरेको तर, सोही अवधिमा तिवारीले २५ करोड ६ लाख ८७ हजार २२७ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।














