काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा व्यापक सुधार, पूर्वाधार विकास र विशिष्टीकृत सेवा विस्तारलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
सरकारले देशैभर आधारभुत स्वास्थ्य सेवामा न्युनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
नागरिकलाई लागत प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहका आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिने नीतिमा उल्लेख छ । साथै, सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवकको क्षमता तथा सेवाको दायरालाई थप विस्तार गरिनेछ ।














