काठमाडौं । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पुनले सरकारको निर्णयको स्वागत गरेका हुन्।
पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय अलग्गै बनाउन आग्रह गर्दै आएका थिए । प्रतिनिधिसभाका पछिल्ला बैठकमा समेत उनले यो माग उठाइरहेका थिए ।
उनले भनेका छन्– ‘मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु। साथै मैले रिसको झोँकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु।’














